काठमाण्डौबाट सिन्धुपाल्चोक जाने अरनिको बस पुरानो बसपार्कबाटै छुटाउन महानगरको अनुमति



काठमाण्डौबाट सिन्धुपाल्चोक जाने अरनिको बस पुरानो बसपार्कबाटै छुटाउन महानगरले अनुमति दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, पूर्व अरनिको यातायात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच भएको छलफलमा पूर्व अरनिको यातयातलाई सिन्धुपाल्चोकमा छुट्ने बसका लागि महानगरपालिकाले हाल निर्माणाधीन टावर नजिकै टिकट काउण्टर राख्न अनुमति दिएको हो ।
एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर र दुइ वटा गाडी पश्चिम फर्केर सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिएको छलफलमा सहभागि यातायात ब्यवसायीहरुले बताएका छन । अब तिनकुने वागमती पुल छेउको टिकट काउण्टर हटाइने र पुरानो बसपार्कमा पिक एण्ड ड्रपको मात्रै व्यवस्था गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।
महानगरपालिकाले गरेको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं-चौतारा, काठमाडौं- जलविरे, काठमाडौं – बाह्रबिसे, काठमाडौं-तातोपानी लगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा जाने सवारी साधनहरु पुरानो बसपार्कबाटै छुट्ने गरी व्यवस्था मिलाएको छ ।

यसअघि सिन्धुपाल्चोक लगायत राजधानी पूर्वका विभिन्न जिल्लाहरुमा छुट्ने बसका लागि खुल्ला मञ्च नजिकै बसपार्कको व्यवस्था गरिएको थियो । पुरानो बसपार्कमा अहिले काठमाडौ टावर निर्माण भैरहेको छ ।

२०७३ सालदेखी निर्माण भैरहेको उक्त टावर अहिलेसम्म निर्माणाधीन अवस्थामै रहेको छ । पुरानो बसपार्कमा टावर निर्माण हुन थालेपछि राजधानी भित्र र राजधानी बाहिर पुर्व चल्ने बसहरुलाई पनि खुल्लामन्चमा नै बसपार्कको व्यवस्था गरिएको थियो ।
