पवित्र मानिने बागमती नदिको दुर्दशा, पवित्र मान्ने कि अपवित्र



बागमती नदी नेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौको किनारमा बग्दछ। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। यो नदीले काठमाडौं र ललितपुर बीच सीमा छुट्ट्याउँदछ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ। भारतको बिहार राज्यमा गएर यो नदि कोशी नदीमा मिसिन्छ। यो नदिको आफ्नै धार्मिक बिषेशता रहेको छ। यी नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। यस नदिको किनारमा कयौं मन्दिरहरू समेत बनेका छन् ।


तर अहिले यो वागमती नदी काठमाडौं उपत्यकामा पुगेपछि यसको रंग क्रमशः सफा देखि खैरो र त्यसपछि कालो, भग्नावशेषले निसासिएको, पिउन नसकिने पानी र सरसफाइका लागि समेत अयोग्य हुने गर्छ । सुख्खा मौसममा पनि यस क्षेत्रको किनारमा अत्यन्तै दुर्गन्धित हुने गर्दछ ।
सिधै नदीमा फोहोर फाल्ने र ढलबाट दूषित पदार्थ मिसिएर नेपालको सबैभन्दा पवित्र नदी आज यो देशकै सबैभन्दा प्रदूषित नदिमा परिणत भएको छ ।
सन् 1979 मा युनेस्कोले विश्व सम्पदा साइट घोषणा गरेको यो क्षेत्रको फराकिलो परिसरमा हिन्दू देवता शिवलाई समर्पित सुनको छाना भएको मुख्य मन्दिर पशुपतिनाथ समावेश रहेको छ, जसको वरिपरि सयौं साना साना मन्दिरहरू समेत रहेका छन् ।

हिन्दूहरू बागमतीको नदी किनारमा रहेको तीर्थस्थलहरूमा पूजा गर्न र चाडपर्वहरू मनाउन ओइरिने गर्दछन् । ऋषिपञ्चमीका दिन महिलाहरू पापबाट मुक्ति पाउनका लागि यसै नदिमा डुबुल्की मार्ने गर्दछन् ।

छठ पर्वमा सूर्यदेव सूर्यको आराधना गरी दर्शनार्थीहरू पनि घुम्ने गर्छन् । तीजको समयमा, विवाहित महिलाहरू आफ्ना पतिको स्वास्थ्य र समृद्धिको लागि प्रार्थना गर्न आउँछन् र अविवाहित महिलाहरू आफ्नो कामना पूरा हुने आशमा यहाँ दर्शन गर्न आउने गर्दछन्।

यतिमात्र नभएर बागमतीको किनारमा रहेको ढुङ्गाको स्ल्याबमा मृतकका खुट्टा धुन र खोलाको पानीले अनुहारमा छर्काउँदा मृतकको पाप पखालिने विश्वासमा मृतकका परिवारले शवलाई यी किनारमा लैजाने गर्दछन् । तर यहि नदी अहिले छोई नसक्नुको फोहोर भएका छन् ।

यसरी धार्मिक आस्था बोकेको महत्त्वपुर्ण नदी बागमतीलाई जोगाउन बेलैमा सचेत भएर राज्यले ध्यान दिन सकिएन र स्थानीयले पनि चासो देखाउन सकिएन भने विस्तारै पशुपतिनाथको दर्शन गर्न भारतदेखी आउने दर्शनार्थीको मात्रै कमि आउने छैन । नेपालकै दर्शनार्थीहरुले पनि दर्शन गर्न बिर्सनेछन् ।