नेपाली कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ नाराका साथ टोलअभियान चलाउने



नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आगामी भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोकेको छ ।

कांग्रेसले निर्वाचनको सम्मुखमा भदौ १० देखि टोल–टोलसम्म पुग्ने गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको हो ।
प्रवक्ता प्रकाशसरण महतले शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न तीन चरणमा जनताको साथमा कांग्रेस अभियान सञ्चालन हुने जानकारी दिए ।
उनकाअनुसार पहिलो चरणमा भदौ १० देखि २४ गतेसम्म जनताको घरदैलोमा पुग्ने, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोसम्म पुगेर मुलुकको वर्तमान राजनीतिमा कांग्रेसको भूमिका र आगामी पाँच वर्षकालागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुनेछन् ।

अभियानकालागि केन्द्रीय समितिले ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाउने प्रवक्ता महतले बताए ।

त्यस्तै, सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने प्रवक्ता महतले बताए ।
