गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले १ अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको अवधिमा २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली बिक्री भएको प्राधिकरणले जनाएको छ । यो अवधिमा औसत दैनिक पाँच करोड ९३ लाख रुपियाँको बिजुली बिक्री भएको छ । 

प्रााधिकरणले देशभित्र खपत गरी बचत भएको विद्युत् गत जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)का डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट विद्युत् मात्र बिक्री गरिएकोमा जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । 

गत आर्थिक वर्ष ७३५ मेगावाट विद्युत् प्रणालीमा थपिएपछि प्राधिकरणसँग वर्षायाममा बिजुली बचत हुन्छ । उत्पादनभन्दा स्वदेशी खपत कम भएपछि विद्युत् निर्यात गर्ने अवसर पाएको हो । 

“विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुक बीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार थप ११० मेगावाट विद्युत् निर्यातका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको छ । असोजदेखि स्वदेशी खपत घट्ने भएकाले यो परिमाणको बिजुली पनि निर्यात गर्ने अवसर रहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले चारवटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि नेपालबाट थप विद्युत् निर्यात हुनेछ । ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् निर्यात गर्न प्रस्ताव गरिएको हो । “थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्‍त हुनेछ,” घिसिङले भन्नुभयो । 

बर्खायाममा विद्युत् निर्यात गरे पनि हिउँद, सुक्खायाममा भने भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था कायमै छ । तर, पनि चालू आर्थिक वर्षदेखि नेपाल विद्युत् व्यापारमा खुद निर्यातक (आयातभन्दा निर्यात धेरै) बन्ने आकलन प्राधिकरणले गरेको छ ।   

आव २०७८/७९मा तीन अर्ब ८८ करोड रुपियाँको विद्युत् निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ ।  

घिसिङका अनुसार प्राधिकरणले विहारमा पनि विद्युत् निर्यातका लागि अन्य खरिदकर्ता पनि खोजिरहेको छ । प्राधिकरणले अहिले उत्तर विहार पावर वितरण कम्पनीसँग पनि आपसी समझदारीमा विद्युत् निश्चित दरमा विद्युत् निर्यात गरिरहेको छ । नेपाल–विहार विद्युत् आदान–प्रदान गर्न १३२ केभी प्रसारण लाइनको पनि पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् अन्य खरिदकर्तालाई बिक्री गर्न पनि प्रयास थालिएको उहाँले बताउनुभयो । श्रोत : गोरखापत्र अनलाइन

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु