चौतारा साँगाचोकगढीका पूर्व मेयर अमानसिंह तामाङले माओवादी त्यागेर एमाले प्रवेश गर्ने



चौतारा साँगाचोकगढीका पूर्व मेयर तथा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता अमानसिंह तामाङले माओवादी छाडेर एमाले प्रवेश गर्ने भएका छन् ।

सशस्त्र द्वन्द्व देखिनै माओवादीको राजनीतिमा क्रियाशील तामाङले माओवादी छाड्ने भएका हुन् । उनी गत वैशाखमा भएको स्थानीय निर्वाचनदेखि माओवादी केन्द्र प्रति असन्तुष्टि राख्दै आएका थिए ।
मेयर भएका उनले पुनः चौतारा नगरको मेयर उम्मेदवार बन्न दाबी गरेका थिए । अन्त्यमा उनले टिकट नपाएपछि उनलाई माओवादी केन्द्रको केन्द्र तथा प्रदेश कमिटीको सदस्य बनाउने सहमति भएको थियो। निर्वाचन सकिएको तीन महिना वितिसक्दापनि उनको माग सम्बोधन नभएपछि उनले पार्टी छाड्ने निश्चित गरेका हुन् ।
उनी सोमबार नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । नेकपा एमालेका नेता सरेश नेपालले भोलि पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट तामाङ एमाले प्रवेश गर्न लागेको जानकारी दिए।

यसअघि स्थानीय तह निर्वाचनमा पनि तामाङ एमाले प्रवेश गर्ने हल्ला चलेको थियो । अन्तिम समयमा उनले एमाले प्रवेशलाई रोकेका थिए ।
