राष्ट्रिय भूमिआयोग सिन्धुपाल्चोकद्वारा भूमिहीनका लागि जग्गा जमिन माग गर्न ३५ दिने सुचना



सिन्धुपाल्चोक । राष्ट्रिय भूमि आयोग सिन्धुपाल्चोक ले भूमिहीनका लागि जग्गा जमिन माग गर्न आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो ।

राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति, सिन्धुपाल्चोकका अध्यक्ष झम्कप्रसाद पराजुलीका अनुसार जिल्लाका १० पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन भनिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, सुनकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, जुगल गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका र इन्द्रावती गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो । हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको अध्यक्ष पराजुलीको बताउनुभयो ।
जग्गा जमिन नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलन मार्फत आवदेन सङ्कलन गरिनेछ । उहाँले भन्नुभयो, “राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौँ । यकिन तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौ ।”

आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ । जिल्लाका १० स्थानीय तहका लागि आवेदन खुला गरिएको हो। हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोगसङ्ग सम्झौता गर्न राष्ट्रिय भूमि आयोग ताहाचल, काठमाडौ जानुपर्ने समेत अध्यक्ष पराजुलीले बताउनु भयो । श्रोत : सिन्धु खबर डट कम
