सत्ता गठवन्धनमा सिट बाँडफाँडको टुंगो नलागेपछि आज फेरि बैठक बस्दै



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो मंगलबार गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको संयुक्त बैठक बसेको थियो । तर सिट बाँडफाँड बारे कुनै टुंगो नलागेपछी आज बुधबार पनि फेरि बैठक बस्ने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण अनुपस्थित थिए । बुधबार फेरि बैठक बस्ने गरी मंगलबारको बैठक सकिएको हो ।
नेता पुरीले मंगलबारको बैठकमा सिट बाँडफाँडका आधारहरूमाथि नै छलफल भइरहेको बताए । ‘अहिले के–के आधारमा सिटको बाँडफाँड गर्ने भन्ने नै टुंगिएको छैन । किनभने अहिले एउटामात्रै आधारले सिटको भागबण्डा हुन सक्ने अवस्था छैन । २०७४ को समानुपातिकको परिणाम, प्रत्यक्षतर्फको परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामहरूलाई आधार मानेर सिटको बाँडफाँड गर्ने हाम्रो प्रयास छ,’ उनले भने, ‘तर यी सबै फरक फरक आधार हुन् । कहाँ कसको राम्रो अवस्था छ ? कसलाई दिँदा खेरि जित्ने सम्भावना हुन्छ ? सबै कुरा हेर्नुपर्ने हुन्छ ।’
उनले बिहीबारसम्म सिट बाँडफाँडको विषयलाई टुंग्याउने मानसिकतासहित छलफल भइरहेको बताए । नेताहरूबीच ०७४ र ०७९ को निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भएपनि सिटको संख्याबारे भने सहमति हुन सकेको छैन । श्रोत : इकान्तिपुर डट कम
