२०७४ मा समानुपातिकतर्फ निर्वाचित को नाम पुनः सिफारिस नगर्न कांग्रेसको निर्देशन (नाम सहित)



काठमाडौं- नपाली कांग्रेसले २०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित नेताहरुलाई पुनः समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने जनाएको छ। कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा २०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको हो ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएका हुन्।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ बसेका गृहमन्त्री बालकृष्ण खाणले अब फेरि समानुपातिकतर्फ बस्न पाउँदैन् । उनले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे, सुजाता कोइराला, पुष्पा भुसाल, डा.डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी दीपशिखा शर्मा पुनः समानुपातिकमा रहन पाउने छैनन् ।
यस्तै बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हिरा गुरुङ र मीना सुब्बा पनि समानुपातिकमा दोहोरिन पाउने छैनन् ।

यस्तै हाल समानुपातिक तर्फको सांसद रहेका अर्बपति विनोद चौधरी नवलपरासीबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली पनि बाहिरिने छन् ।

सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, नमिताकुमारी चौधरी, अतहर कमाल मुसलमान र सर्वतआरा खानम पनि अब समानुपातिकमा बस्न नपाउने भएका छन् ।

अघिल्लो चुनावमा समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६/६ सिट पाएका थिए ।