सभामुख सापकोटाले चुनाव नलड्नु मा कांग्रेस नेता बस्नेतसँगको शक्ति संघर्ष प्रमुख कारण



असोज २३ गते काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन नै गरी आफू उम्मेदवार नहुने घोषणा गरे ।

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए पनि आन्तरिक रहस्य भने अरु नै रहेको सिन्धुपाल्चोकका नेताहरूले बताए ।
पार्टी कमिटीले सापकोटासहित प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरेको थियो । जसमा अर्का दुईजना थिए, अग्नि सापकोटाकै भतिज माओवादी पोलिट्ब्यूरो सदस्य माधव सापकोटा र फुलम तामाङ ।
तर, सिन्धुपाल्चोकका स्थानीय नेताहरु अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गर्नु राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताउँछन् । कतिपयले सभामुख भइसकेको हुनाले संसदमै सक्रिय राजनीति नगरेर अन्य जिम्मेवारी (राष्ट्रपति/उपराष्ट्रपति) लिने चाहनासँग पनि जोडेका छन् ।

तर, सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा गर्नुमा कांग्रेस नेता मोहनबहादुर बस्नेतसँगको शक्ति संघर्ष प्रमुख कारण रहेको सिन्धुपाल्चोकका नेताहरु बताउँछन् ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका क्रममा पनि यो विषय निकै पेचिलो बनेको थियो । पुर्व मन्त्री बस्नेतले विभिन्न मिडियाहरुमा र विभिन्न कार्यक्रमहरुमा खुलेरै पटकपटक अग्नि सापकोटाको विरोध गरिरहेका थिए । बस्नेतले गठबन्धनले गरेको निर्णयलाई स्वीकार्ने तर, सापकोटालाई सहयोग नगर्ने सूचना विभिन्न माध्यमबाट सापकोटासम्म पुर्याएको स्रोत बताउँछन् ।

सत्तारुढ गठबन्धनका एक नेता भन्छन्, ‘एकातिर मोहन दाइले अर्को निर्वाचन क्षेत्रमा गएर पनि सहयोग नगर्ने सन्देश दिनुभयो । अर्कोतिर, सभामुख भइसकेको व्यक्तिले हार्दा राजनीतिक भविष्य थप धरापमा पर्ने भयो । यस्तोमा अग्निदाइले पनि सहज बाटो रोज्नुभयो ।’
यसकारण पनि सभामुख सापकोटाले आफूलाई असुरक्षित देखेर सिन्धुपाल्चोक–१ बाट प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेको हुन सक्ने नेताहरु बताउँछन् ।
अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेपछि सिन्धुपाल्चोक १ मा माधव सापकोटाले टिकट पाउने भएका छन् ।