रामेछापको खाँडादेवीमा बस दुर्घटना, १३ यात्रु घाइते, एकको अवस्था चिन्ताजनक



रामेछाप असोज २३ गते । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ३ ख. ४०४८ नम्बरको यात्रुवाहक बस आज आइतबार खाँडादेवी ३ भीरपानीको सित्खा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । बसमा ३० जना यात्रु रहेको स्थानीयहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ती काट्न नसकेर दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेहरूको सित्खामा उपचार भइरहेको छ । यात्रुहरू दसैं मनाएर काठमाडौं फर्कँदै गर्ने क्रममा बस दुर्घटनामा परेको हो ।