सिन्धुपाल्चोक : सबैको प्रिय नेता मोहन बहादुर बस्नेत मलाई पनि एकदमै मनपर्ने नेताहरु मध्ये एक हुनुहुन्छ । जसले सिन्धुपाल्चोकमा सयको संख्यामा गणना गर्नुपर्ने कांग्रेसलाई बढाएर तिसौं हजार भन्दा धेरैको संख्यामा पुर्‍याए । हुन त संगठन बनाउने क्रममा अरु पनि धेरै नेता कार्यकर्ता लागि परेर कांग्रेसलाई सिन्धुपाल्चोकमा यो तहमा पुर्‍याउन सके । तैपनि नेता बस्नेत आफैंमा के युवा के वृद्ध सबैको भावना बुझ्ने, जनताको पीडा सुनिदिने, जसरी पनि जनताको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्छ भन्ने सोच बनाएर अगाडि बढ्ने, कसैले जनतालाई भ्रम फैलाएर स्वार्थपुर्ण काम गर्न खोज्छन् भने त्यस्तालाई कुट्न पनि पछि नपर्ने एक फरक खालको नेता भएको कारणले पनि युवाहरूले मोहन बहादुर बस्नेतलाई अत्याधिक रुचाएर सिन्धुपाल्चोकलाई कांग्रेसमय बनाउन सफल भए ।

मोहन बहादुर बस्नेत एक यस्तो नेता हो । जो बिकासको कुरामा टेबुल ठोकेरै भएपनी बिकास ल्याउन सक्ने खुबी र दम भएको । आफुलाई भोट दिएका ठाउँमा चुनाब हारेपनी, जितेपनी उहाँले सडक, खानेपानी, विद्यालय, टेलिफोन (मोबाइल) टावर लगायत विभिन्न कुराहरुले सुबिधा सम्पन्न नै गरिदिनु भयो । कृषकहरुले उत्पादन गरिएको तरकारी बेच्न घण्टौं हिडेर बजार लैजानुपर्ने अवस्थालाई हटाउन गाउँ गाउँमा सडक पुर्‍याउनु भयो । उहाँको पहलमा बनेको धेरै ग्रामीण सडकहरु त पटकपटक बजेट हालेर कालोपत्रे पनि बनाईदिनुभयो । छाप्रे विद्यालय भएको ठाउँमा सुबिधा सम्पन्न विद्यालय बनाउन पहल गरिदिनुभयो । ५ लाख बजेटको सानो योजनाको खानेपानी चाहियो भनी माग गर्ने उपभोक्ताको मागलाई दीर्घकालीन रुपमा खानेपानीको अभाव नहोस् भनेर ५० लाखको ठूलो योजना पारिदिनुभयो ।

आफू संचारमन्त्री हुँदा सिन्धुपाल्चोक क्षेत्र नं १ को विभिन्न ठाउँमा मोबाईल टावर राखेर जनताको घरघरमा मोबाइल र नेट चल्ने अवस्था बनाउनु भयो । हालसालै पनि उहाँकै पहलमा लिसंखुपाखर १,२,३,४,५ र काभ्रे, दोलखा र रामेछापको केही गाउँहरुलाई प्रत्यक्ष सेवा पुग्ने गरि लिसंखुपाखरको १ नं वडाको मानेडाँडामा नेपाल टेलिकमको टावर (BTS/eNB) राख्नको लागि पटकपटक सर्भे गरेर site approval भैसकेको र काम अघि बढाउन गत २०७९ असोज ७ गते नेपाल टेलिकमको योजना शाखामा पत्राचार पनि भैसकेको कुरा सबैलाई अवगत गराउन पनि चाहन्छु ।

सिन्धुपाल्चोकमा २०७२ मा भुकम्प जाँदा अरु पाटिका नेताहरु कुखुराको माउले चल्लालाई छोपेर राखेजस्तो गरेर आफ्नो र परिवारको मात्रै सुरक्षा गरेर बसेको बेला प्रिय नेता मोहन बहादुर बस्नेत चाहिँ आफैं फिल्डमा खटेर विभिन्न ठाउँमा राहत उपलब्ध गराउने काम गर्नुभयो । कुनै ठाउँमा त्रिपाल पुर्‍याउनु भयो । कुनै ठाउँमा चामलका बोरा पुर्‍याउनु भयो । उहाँले न त आफ्नो सुरक्षाको वास्ता गर्नुभयो न त परिवारको । उहाँ जसरी पनि जनताको सुरक्षाको लागि लागि पर्नुभयो ।

त्यसै गरि जुरे पहिरो गयो झण्डै ५० जनाको ज्यान गयो । सयौं घरबार विहीन भए । सबैभन्दा पहिला राहत लिएर उहाँ नै पुग्नु भयो । सिन्धुपाल्चोकको लिदी मा पहिरो जाँदा झण्डै ४० जना मानिस मरे । सयौं घरबार विहीन भए । सबैभन्दा पहिला राहत लिएर उहाँ नै पुग्नु भयो । अरु पाटिका नेताहरू हेलिकप्टरमा घुमेर फर्किँदा उहाँ भने त्यहाँका पिडितहरुलाई व्यवस्थापन गर्न आफैं खटेर जतिसक्दो लागि परिराख्नु भएको थियो । सामाजिक संजालमा खोजेर हेर्ने हो भने सिन्धुपाल्चोकमा बिपत परेको अवस्थामा अरु पाटीका नेता देख्न शायदै भेट्न मुश्किल नै भएको छ । तर उहाँ भने देखि नै रह्यो ।

उहाँले आफ्नो क्षेत्रमा मात्रै नभएर सिन्धुपाल्चोकका क्षेत्र नं २ मा पनि विपत परेको बेलामा त्यतिकै काम गरेको देखिन्छ । गत साल मेलम्चीमा बाढिपहिरो जाँदा तत्काल पुगेर पिडितहरुको घाउमा मल्हम लगाउने काम उहाँले नै गर्नुभयो । उहाँ त्यो बेला त्यहाँका जनता सँगसँगै बाढी आउँदा दौडिरहेको र पछि तत्काल राहत उपलब्ध गरेको फोटो भिडियोहरु सामाजिक संजालमा भाईरल नै भएका थिए । त्यो बेलामा पनि अरु पाटिका नेताहरु खासै देखिएनन् । तर पनि पछि जस लिने काम भने विभिन्न पाटिका नेताले गरे ।

यसै गरि विश्वभर कोरोना महामारीले लाखौं मानिस मरेको अवस्थामा नेपाल पनि अछुत रहेन । नेपालमा पनि सबैभन्दा पहिला सिन्धुपाल्चोककै एकजना सुत्केरी महिला कोरोना महामारीको कारण मृत्यु भयो । नेता बस्नेतले तत्काल निजको आफन्तलाई भेटी राहत उपलब्ध गराउनुका साथै उक्त महिलाबाट जन्मेका शिशुलाई उपचार र १२ कक्षा सम्म निशुल्क पढाईदिने घोषणा गर्नुभयो ।

बिस्तारै बिस्तारै कोरोना महामारी देशैभर फैलन थालेपछी नेपाल सरकारले मास्क लगायतका स्वास्थ्य सामग्री झिकाउन नसक्दा पनि सिन्धु नेता मोहन बहादुर बस्नेतले तत्काल चिनबाट स्वास्थ्य सामग्री मास्क लगायत पिपिई सेट झिकाई पहिलो चरणमा फ्रण्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई प्रदान गर्नुभयो र त्यसपछि धेरै प्रभावित ठाउँहरुमा स्वास्थ्य सामग्री पुर्‍याउने काम गर्नुभयो । यतिसम्म कि उहाँ आफैं खुट्टा भाँचेर हिड्न नसकेको अवस्थामा पनि बैशाखी टेक्दै स्वास्थ्य सामग्री उपलब्ध गराउने काम गर्नुभयो । सयौंको संख्यामा अक्सिजन सिलिन्डर ल्याएर जिल्लाका विभिन्न स्वास्थ्य चौकी लगायत हस्पिटल हरुमा दिने काम भयो । ठोकर्पामा त अक्सिजन उत्पादन गर्ने मेशिन नै राख्नका लागि सफल पनि हुनु भयो । मैले माथी लेखेका कुराहरु ४ भागमा १ भाग जति मात्रै होला । किनकी मलाई थाहा भएका कुराहरु मात्रै लेख्न सकेको छु । मैले नदेखेका र नसुनेका उहाँका कामहरु त अझै कति छ कति ।

अब सिन्धुपाल्चोकको धेरै ठाउँमा बिकास भैसकेको छ । तर जहाँ बिकास हुँदै गयो । त्यहाँ जनताले मोहन बहादुर बस्नेत को आवश्यकता महशुस गरेनन् । हामी पनि सानो छँदा खानेकुराको लागि आफ्ना आमाबुबा सम्झन्थ्यौं । ठूलो भएर आफैंले कमाएर खान सक्ने भएपछि आफ्नै पाराले रमाएर हिड्यौं । शायदै बुबाआमालाई हामी ठूलो भएसी सानोमा जति सम्झेनौं । त्यस्तै भयो सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा । मोहन बहादुर बस्नेतले भन्दा धेरै बिकास ल्याउने फुस्रो र चिप्लो भाषण सुनेर जनताले केही गर्न नसक्ने नेतालाई पनि भोट दिन पुगे । जनताले नयाँ अनुहार टेस्ट गर्न खोजे । यो ठूलो बिडम्बनाको कुरा हो ।

यतिमात्रै नभएर जसलाई मोहन बहादुर बस्नेत ले मान्छे बनाईदिए । जसलाई ठूलो ठूलो ओहोदाका नेता बनाईदिए । पटकपटक विभिन्न स्थानमा पुग्ने मौका दिए । दुनियाँलाई फलानो भन्ने चिनाईदिए । अब उनिहरुलाई नै मोहन बहादुर बस्नेत नचाहिने भए । जसले मोहन बहादुर बस्नेतको नाम बेचेर करोडौं कमाए । अहिले उनिहरु नै उहाँको विरुद्धमा लागि परे ।  किनकी अब उनिहरु सिन्धुपाल्चोकमा मोहन बहादुर बस्नेतले तत्काल राजनीति नछोड्ने अवस्था देखेपछी उहाँकै विरुद्धमा विभिन्न प्रपन्च रच्न थाले । आफु सफल हुनका लागि एकले अर्कोलाई सिध्याउने क्रम शुरु भयो । सिधिने र सिध्याउने क्रममा केही धुर्तहरुले कतिपय इमानदारी नेताहरुलाई राजनीतिमा सहिद बनाए । केही पात्रहरु जसलाई मोहन बहादुर बस्नेतले हृदय देखि नै विश्वास गरेर उनिहरुको सल्लाह मानेका थिए । उनिहरुले  नै मोहन बहादुर बस्नेतलाई गलत सल्लाहको फन्दामा पारेर उहाँको राजनीति सिध्याउन पछि परेनन् ।

अहिलेको यस्तो परिवेशमा पनि उहाँले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा टिकट पाउँदा सजिलै सँग जित्ने अवस्था त छँदै थियो । यो कुरालाई स्थानीय चुनावले धेरथोर प्रष्ट्याएको पनि छ । तरपनी आफ्नै पाटिभित्रका खुरापाती नेता कार्यकर्ता नै उहाँको विरुद्धमा लाग्ने पक्कापक्की थियो । यो कुरा केही नेता कार्यकर्ताले बेलामौकामा भन्ने पनि गरिन्थ्यो । यी सबै हुनुमा १४औं महाधिवेशन पनि प्रमुख कारण थियो ।

नेपाली कांग्रेसले देशैभरी माओवादी लगायतका विभिन्न दलहरुसँग गठवन्धन गरेर चुनाबमा जाने सहमति भए सँगै सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २ मा नेपाली कांग्रेसले टिकट पाउँदा प्रिय नेता मोहन बहादुर बस्नेतले क्षेत्र नं २ बाट चुनाव लड्ने निर्णय गर्नु एकदमै स्वागतयोग्य छ । क्षेत्र नं १ का कतिपय कार्यकर्ता र जनता उहाँले यस क्षेत्र बाट चुनाब नलड्दा धेरै नै चित्त दुखाएको अवस्था पनि मैले प्रत्यक्ष देखेको छु । भोगेको छु । कतिपयले त चुनाबमा भोट हाल्नै नजाने सम्मका दुखित तुल्याउने शब्दहरु पनि बोलेका छन् । यो धेरै दुखलाग्दो छ । तर जे जस्तो भएपनी अब जनताका प्रिय नेता मोहन बहादुर बस्नेतले  क्षेत्र नं १ का जनतालाई माया गर्दै क्षेत्र नं २ मा पनि जनताको भारी मतले जितेर बिकास बजेट ओइराउनु पर्नेछ ।

क्षेत्र नं २ मा अझै पनि अनकन्टार अनि बिकासको अनुहार नै नदेखेका कतिपय गाउँहरु छन् । त्यहाँ सडक पुर्‍याउनु छ । भौतिक सुविधाले सम्पन्न विद्यालय पुर्‍याउनु छ । कम्तीमा पनि कक्षा १२ सम्म निशुल्क शिक्षा लागू नै गर्नुपर्नेछ । स्थानिय स्तरमै रोजगारको सृजना गर्नुपर्नेछ । कम्तीमा स्नातक तह सम्म गाउँमै अध्ययन गर्नसक्ने वातावरणको निर्माण गर्नुपर्नेछ । त्यो दुर्गम गाउँमा हस्पिटल पुर्‍याउनु पर्नेछ । टेलिफोन र ईन्टरनेट गाउँगाउँमा पुर्‍याउनु छ । कृषिमा आत्मनिर्भर हुन सक्ने किसिमले आधुनिक कृषिमा जोड दिनुपर्नेछ । डाँडाहरुमा पर्यटक लोभ्याउने संरचनाहरुको निर्माण गर्नुपर्नेछ । झरनाहरुलाई व्यवस्थित बनाएर पर्यटक तान्ने ठाउँहरु बनाईनुपर्दछ । यो सबै काम गर्नका लागि हाम्रा प्रिय नेता ‘मोहन बहादुर बस्नेत’ सक्षम हुनुहुन्छ ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहन बहादुर बस्नेत जतिको नेता पाउनु त्यहाँको जनताको लागि पनि सौभाग्यको कुरा हो । उहाँलाई धेरै भन्दा धेरै मत दिएर सिन्धुपाल्चोक लाई नेपालकै नमुना जिल्ला बनाउन सबैले साथ दिनुपर्नेछ । विगतका दिनहरुमा जे जस्तो भएपनी नेपाली कांग्रेसका नेता कार्यकर्ता यो बेलामा एक ढिक्का भएर लाग्न सक्यो भने आगामी दिनहरुमा उक्त क्षेत्रमा ५०औं हजार जनता कांग्रेसका हुनेछन् । यो कुरामा कुनै दुईमत नै छैन । पछि पछुताउनु भन्दा अहिले नै सोचेर विचार गरेर काम गर्दा धेरै उपयुक्त हुनेछ ।

अबका दिनहरुमा जनताका प्रिय नेता मोहन बहादुर बस्नेत पनि आफ्ना पार्टीका खुरापातीहरु देखि सचेत भएर सकारात्मक सोच भएका सबै नेता कार्यकर्ताहरुलाई यो टिम त्यो टिम नभनिकन एकत्रित गर्दै सिन्धुपाल्चोकबासी सबैलाई न्यानो माया दिएर, विपतको बेलामा अझ शसक्त भएर, बिकासको काममा देशकै नमुना जिल्ला बनाएर नाम कमाएर मात्रै राजनीतिबाट सन्यास लिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । जय नेपाल ।
इकाई सभापति : इराज लामा(आईराज)
लिसंखुपाखर-५ सिन्धुपाल्चोक

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु