डोटीमा भुकम्प जाँदा ६ जनाको मृत्यु ७ घाइते



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार राति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।
भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पुर्याउन लागिएको बताइएको छ।
“घाइतेको अवस्था हेरी हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिरहेका छौँ,” श्रेष्ठले बताएकी थिइन्। उनीहरूमध्ये पाँच जनाको डोटीमै उपचार भइरहेको छ भने २ जनालाई धनगढी पुर्याइएको छ।

पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका छन्।

डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भएपनि मानवीय क्षतिको भने विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन्।
