अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए



कतार विश्वकपका उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् भने सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।
अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा २ सहित ७ गोल गरे र ३ असिस्ट गरे । योसँगै मेस्सीको विश्वकप युग समाप्त भएको छ । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए ।

अर्जेन्टिनालाई उपाधि दिलाउंन फाइनलमा फ्रान्सको पेनाल्टी रोकेर निर्णायक प्रदर्शन गरेका इमिलियानो मार्टिनेजले विश्वकपको उत्कृष्ट गोलरक्षकका रुपमा गोल्डेन ग्लभ्स जितेका छन् । विश्वकपका उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि अर्जेन्टिनाले नै जितेको छ । २१ वर्षीय मिडफिल्डर एन्जो फर्नाण्डेजले यो पुरस्कार जितेका हुन् ।
