‘बिकिनी किलर’ र ‘सिरियल किलर’ भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश



पौष ६ गते काठमाडौ; ‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले समेत चिनिएका चार्ल्स शोभराज भारत, थाईल्याण्ड, टर्की, ईरान लगायतका मुलुकमा गरी झण्डै २० जनाभन्दा बढीको हत्यासहित विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स शोभराजलाई आजै रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज (बुधवार) नै कैदबाट मुक्त गर्न आदेश दिएको हो ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चार्ल्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ ।
आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो ।

उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ । १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ ।

एक अमेरिकन र एक क्यानेडियन नागरिकको हत्या अभियोगमा शोभराजले लामो समयदेखि नेपालमा जेल जीवन बिताइरहेका छन् । उनी अपराधनकाे दुनियाँमा ‘सिरियल किलर’का रुपमा चर्चित छन् ।

जन्मकैद
झण्डै ४४ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र उनको क्यानडाली साथी लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरकफरक मुद्दामा काठमाण्डू र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका थिए।
‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले समेत चिनिएका शोभराजविरुद्ध भारत, थाईल्याण्ड, टर्की, ईरान लगायतका मुलुकमा गरी झण्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ।
तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलोपटक उनीविरुद्धको हत्या आरोप पुष्टि भएको बताइन्छ।
सर्वोच्च अदालतले किन मुक्त गर्ने आदेश दियो?
चार दशकअघि नेपालमा अमेरिका र क्यानडाका एकएक महिलाको हत्या गरेको अभियोग उनीमाथि थियो। ती मुद्दामा उनी दोषी ठहर भए।
हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ।
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।
नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।
“हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ,” आदेशमा भनिएको छ।
बुधवारको आदेशमा न्यायाधीशद्वयले सर्वोच्च अदातल २०७५ साल फागुनमा दिइएको आदेशमा रहेको “निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई ठेकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो” बेहोरा र त्यसपछि २०७९ साल वैशाखमा परेको अर्को रिट निवेदनमा सर्वोच्च अदालतले जारी गरेको परमादेशको सम्बन्धमा कुनै निर्णय पनि नभएको पनि उल्लेख गरिएको छ।


