काठमाडौँ — सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । केही ‘तलमाथि नपरे’ एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ ।

‘पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना छ, जम्मा ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । यसबारे सूचना भने सार्वजनिक गरिएको छैन । ती अधिकारीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार ल्याउन लागिएको बताए । ‘तत्काल खोप नपाइरहेको अवस्थामा चिनियाँ कम्पनीको सर्तले खोपको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार सरकार खोप ल्याउन बाध्य भएको हो,’ मन्त्रालयका अर्का उच्च अधिकारीले भने, ‘यसअघि सरकारद्वारा खरिद गरिएको कोभिसिल्ड खोपको दाँजोमा भेरोसेलको मूल्य दोब्बरभन्दा बढी परेको छ ।’ पहिलो लटको १० लाखदेखि २० लाख मात्राबाहेक थप खरिदमा उल्लेख्य रूपमा मूल्य कम हुने गरी दुवै पक्षबीच अनौपचारिक कुरा भएको स्रोतले बतायो ।

गत वैशाख २८ गते स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतबाट २० लाख मात्रा कोभिसिल्ड प्रतिमात्रा ४ डलरमा खरिद गरेको जानकारी दिएका थिए । उक्त खोपको बाँकी १० लाख मात्रा नेपालले अझै पाउन सकेको छैन । सिरम इन्स्टिच्युट अफ इन्डियाले २०२१ को अन्तसम्म दिन सकिने भन्दै आएको छ । चीन सरकारले अनुदान सहयोगमा यसअघि दुईपटक गरी १८ लाख मात्रा भेरोसेल उपलब्ध गराइसकेको छ । राष्ट्रिय कोभिड खोप कार्ययोजनाअनुसार बढी उमेरबाट क्रमशः कम उमेरकालाई खोप लगाइने रणनीति सरकारको छ । ६२ देखि ६४ वर्षसम्मलाई खोप सुनिश्चित गरेर अरूलाई पनि खोप लगाइने स्रोतको भनाइ छ । भेरोसेल १८ वर्षमाथिका सबै उमेर समूहलाई दिन सकिन्छ । यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी) सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (भेरोसेल) इनएक्टिभेटेड भ्याक्सिन’ हो ।

औषधि व्यवस्था विभागले उक्त खोपलाई गत फागुन ४ गते आपत्कालीन उपयोगको अनुमति दिएको थियो । यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ । कोभिसिल्डको म्याद गुज्रिने मिति ६ महिनाको थियो भने यो खोपको अवधि दुई वर्षको छ । भेरोसेलमा मृत कोभिडको कोषिका उपयोग गरिएको छ । ७९.३४ प्रतिशत प्रभावकारिता रहेको खोप २१ देखि २८ दिनको अन्तरमा दुई मात्रा लगाउन प्रस्ताव गरिएको छ ।

यो खोपमा सक्रिय घटकका रूपमा ‘सार्स–कोभ–२’ र निष्क्रिय घटकका रूपमा डाई सोडियम हाइड्रोजन फस्फेट, सोडियम क्लोराइड, सोडियम डाइहाड्रोजन फस्फेट, एल्युमिनियम हाइड्रोक्साइड रहेका छन् । खोपको एक मात्रा सिंगल डोजमा आउने भएकाले खेर जाने सम्भावना धेरै कम हुन्छ । यसको सिरिन्ज प्रिलोडेड वा भाइलमा हुन्छ भन्ने यकिन भएको छैन । चीनबाटै प्राप्त १० लाख मात्रा भेरोसेल भने प्रिलोडेड थियो । प्रिलोडेडको एक मात्रा सिरिन्जमै हालेर आउने भएकाले कम समयमै धेरैलाई खोप लगाउन सकिन्छ ।

यो पनि पढौं :

२५ हजार भन्दा बढिमा डेंगु संक्रमण ३२ को मृत्यु
१२ हजार बढिमा डेंगु पुष्टि ११ जनाको मृत्यु
लिसंखुपाखर ५ को विभिन्न स्थानमा तीन दिने निशुल्क स्वास्थ्य शिविर
फिलिपिन्समा कोरोनाबाट एकै दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु
नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधन
तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द
नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, २ को मृत्यु
सिन्धुपाल्चोकका धेरैजसो निजी फार्मेसी तथा मेडिकल अनुमति बिनै सञ्चालन
पछिल्लो २४ घण्टामा ५७७ कोरोना संक्रमित थपिए, २ को मृत्यु
पुर्वमन्त्री मोहन बहादुर बस्नेतको हातबाट पहिरो पिडितलाई लालपुर्जा
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना पुष्टि १ को मृत्यु
७५ देशमा मन्कीपक्स फैलिएपछी WHO द्वारा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
नेपालमा कोरोना संक्रमण दिनानुदिन बढ्दै, २४ घण्टामा ४५७ थपिए, एकको मृत्यु