आसन्न प्रदेश एवं संघीय निर्वाचनमा तालमेलबारे कांग्रेसभित्र औपचारिक बहस सुरु भएको छ । स्थानीय निर्वाचनमा जस्तै संघीय र प्रदेश निर्वाचनको मिति घोषणापूर्व नै तालमेललाई लिएर कांग्रेसभित्र पक्ष–विपक्षमा मत देखिएको छ । सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालमेल गर्दा र नगर्दाका नाफा–घाटाबारे सदस्यहरूले आ–आफ्ना धारणा राख्न सुरु गरेका छन् । 

संस्थापनइतर समूहले स्थानीय तह निर्वाचनको सूक्ष्म समीक्षा गरी आवश्यकता र औचित्य पुष्टि हुने गरी प्रदेश र संघीय निर्वाचनमा तालमेल प्रस्ताव गरेको छ । कतिपय नेताले अहिलेकै गठबन्धन नहुँदा बन्न सक्ने अर्को गठबन्धन र त्यसले निर्वाचनमा पार्ने प्रभावबारे समीक्षा गर्नुपर्ने मत राखेका छन् । 

इतर समूहका नेता डा. शेखर कोइरालाले स्थानीय निर्वाचनमा तालमेलले अन्य दललाई फाइदा भएको भन्दै आसन्न निर्वाचनमा पुनर्विचार गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । विगतको तालमेल र आगामी निर्वाचनबारे हामीले पार्टीभित्र सूक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नैपर्छ,’ कोइरालाको प्रस्तावमा छ, ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेलबारे पार्टीको धारणा निर्माण गरौँ भन्ने मेरो विचार हो ।’ 

केन्द्रीय सदस्य प्रदीप पौडेलले गणितीय स्वार्थभन्दा माथि गएर एजेन्डाका आधारमा गठबन्धन गर्नुपर्ने बताए । ‘गठबन्धन नगरी आफ्नो पक्षमा मत, सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो । तर, गठबन्धनमा नजाँदा हाम्राविरुद्ध बन्न सक्ने गठबन्धनका कारण निर्वाचन नतिजामा पर्न सक्ने नकारात्मक असरलाई ख्याल गर्न आवश्यक देखिन्छ,’ उनले भने, ‘गठबन्धन क्षणिक राजनीतिक लाभ निकाल्ने गणितीय समीकरणको आधारमा मात्र हुनुहुँदैन । गठबन्धन गर्दाको अवस्थामा निश्चित मुद्दा तथा उद्देश्य, साझा नीति तथा कार्यक्रम अनि एजेन्डाका आधारमा गरिनुपर्छ ।’

कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन बाह्य शक्ति सक्रिय रहेको भन्दै कांग्रेस सबै विकल्पमा तयार रहनुपर्ने बताए । ‘गठबन्धनका विषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्छ । गठबन्धन गरेर जाने भए सबै राजनीतिक दलको सामूहिक नारा के हुन्छ ? अहिले कम्युनिस्टलाई एकताबद्ध बनाउन बाह्य शक्ति पनि सक्रिय छन् । केही मानिसको आवतजावत पनि बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ । गठबन्धन भए कसरी जाने भन्ने विषयमा पार्टीमा व्यापक छलफल गर्नुपर्छ । अरूको बैसाखीमा टेकेर पार लाग्न सकिन्छ भन्ने सोच त्याग्नुपर्छ ।’

केन्द्रीय सदस्य डिला संग्रौलाले तालमेलका कारण कांग्रेस धेरै सिट जित्न सफल भएको र आगामी निर्वाचनमा गठबन्धन हुँदा धेरै सिट जित्ने विषयमा सोच्नुपर्ने बताइन् । ‘स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन दलबीचको चुनावी तालमेलका कारण कांग्रेस धेरै सिट जित्न सफल भएको छ,’ उनले भनिन्, ‘आगामी चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्छ । आगामी चुनावमा गठबन्धनसहित गए बढी सिट हासिल गर्ने रणनीति होला । तर, सिटको बाँडफाँड र पार्टीबाट चुनिने उम्मेदवार योग्य, सक्षम र लोकप्रियलाई टिकट दिने मापदण्ड अपनाउन आवश्यक छ । ’

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकेन्द्रित भएर छलफल अगाडि बढेको जानकारी दिए । उनले बैठकमा सरकार, पार्टी र समसामयिक विषयमा छलफल भएको जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनकेन्द्रित हुने उनको भनाइ थियो । 

‘स्थानीय निर्वाचनमा कहाँ राम्रो भयो, कहाँ कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो र कहाँ समस्या आयो भन्ने आधारमा आउने दिनमा गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुन्छ,’ उनले भने, ‘मूलतः अब आउने निर्वाचनमा केन्द्रित हुन्छौँ ।’ 

स्थानीय निर्वाचनको तालमेल र आसन्न निर्वाचनमा तालमेल गर्ने विषयमा कांग्रेसका प्रदेश सभापतिको मत बाझिएको छ । कतिपयले स्थानीय निर्वाचनमा तालमेल प्रभावकारी भएको बताएका छन् भने केहीले तालमेलले ठीक नगरेको धारणा राखेका छन् । 

केन्द्रीय समिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी सातै प्रदेशका सभापतिले गठबन्धनको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका थिए । उनीहरूले केन्द्रबाट निर्णय गरेर टिकट वितरण गर्दा प्रदेशलाई विधानले दिएको अधिकार खोसिएको गुनासो गरेका थिए । 

प्रवक्ता महतले संवैधानिक परिषद् विधेयकको विषयमा पनि सरकारले आवश्यकता हेरेर आवश्यक निर्णय लिने बताए । उनले विधेयकमा केही प्राविधिक विषय रहेकाले त्यसबारे निष्कर्ष निस्कने दाबी गरे । उनले परिषद्को उपसभामुख पनि छिट्टै तोक्न लागिएको बताए । बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह