सङ्गम तमाङ ठुलोधादिङ

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका -१ ठुलोधादिङमा अवस्थित अग्लो थुङगाङ डाँडामा रहेको ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजा यहीँ असोज१३ गते बिहिवारको दिन हुने पुजारीहरुले बताएका छन्।

दसैको घटस्थापना औसींको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकाल (तङ्चो–ला) को पुजा अर्चना गर्ने प्रचलन छ । सो पुजा गर्दा विहिबारको दिन नै पार्नु पर्ने परम्परागत धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यसपटकको तङजोला महाकाल विशेष पुजा कार्यक्रम असोज १३ गते गर्ने तय गरिएको तङजो महाकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङ्गले बताए ।

अन्य दिन भन्दा वार्षिक पूजाको दिन भक्तजनहरुको धेरै भीड लाग्ने गर्दछ । आस्था, विश्वास र शक्तिका दृष्टिले धेरै शक्तिशाली मानिएको छ । ताङ्जो महाकाल (तङ्चो–ला) को पूजा गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने जनविश्वास छ । ताङ्जो महाकाल धार्मिक स्थल चार जिल्लाको सीमाना जस्तैः सिन्धुपाल्चोक,रामेछाप, दोलखा र काभ्रेको संगम स्थलमा पर्छ । सो धार्मिक तीर्थस्थल, प्राकृतिक छटाले भरिपूर्ण छ । सो ताङ्जो महाकाल (तङ्चो–ला) को पूजा गर्न जाँदा म्राब्सोङघाल भएर जानुपर्ने भन्ने धार्मिक मान्यता छ ।

२०७४ सालमा समिति गठन भएपछि निरन्तर रुपमा समितिको पहलमा बिकास गरिदै आएको छ। त्यसैगरी ठुलोधादिङ -१ का समाजसेवि तथा धार्मिक मान्यता बोकेका ब्यक्तिहरुले पनि आ-आफ्नो ठाँउबाट यस क्षेत्रमा थप केही बिकास गरिदै आएको अध्यक्ष लामाले बताए।

अब यस धार्मिक क्षेत्रको बिकास, संरक्षण र प्रबर्द्धन तथा विकसित गर्न ठुलोधादिङबासी, वडा र पालिका सरकारले पनि ध्यान केन्द्रित गराउनुपर्ने समितिले जनाएको छ।

गएको पाँच वर्ष कार्यकाल स्थानीय सरकारले थोरै बजेट पहिलो चरणमा मात्र पहल गरिएता पनि वार्षिक बजेट उपलब्ध नगरिएकोमा समितिले आपत्ति जनाएको थियो।अबको कार्यकाल नेतृत्व गरिरहेका पालिका सरकारका अध्यक्ष राजुु लामा र वडा अध्यक्ष पसाङलाल तामाङले ताङ्जो महाकाला धार्मिक तिर्थ स्थल जस्तो पबित्र भएको ठाँउलाई बिकास गर्न ध्यानाकर्षण गर्नुपर्ने समितिले जानकारी दिएको छ।