फागुन १४ गते सिन्धुपाल्चोक । लामो समयको अन्तरालमा मुडे बजार र आसपासमा आज वर्षा भएको छ ।

प्रत्येक बर्ष प्रायजसो मंसिर पौषमा नै हिउँ परिसक्ने सिन्धुपाल्चोकको मुडे बजारमा फागुनको आधाआधी भैसक्दा पनि हिउँ, पानी नपर्दा यहाँका कृषकहरु मात्रै नभएर सबै चिन्तामा परेका थिए ।

हिउँदमा खासै जाडोको अनुभव नै गर्न नपाईकन गर्मी महशुस गर्न थालेका स्थानीयवासीहरु आज अचानक पानी पर्दा धेरै राहत भएको महशुस गर्न थालेका छन् । मुडे र आसपासका कृषकहरुलाई लाखौं लगानी गरेर रोपेको आलु सुकेर मर्ने पिरले रुमल्लिरहेको अवस्थामा यसरी बर्षा हुँदा खुशीले गदगद नै भएका छन् ।

जलवायु परिवर्तनका कारण हिउँदमा पनि जाडो नहुने, हिउँ पानी पर्ने महिनामा पनि हिउँ पानी नपर्ने भएको हुँदा सबैलाई त्यतिकै चिन्ता र चासो पनि बढेको छ । धेरै मुखबाट यसपाली त हिउँ पानी नै नपरिकन हिउँद सकिने भो भन्दै गर्दा आजको बर्षाले भने केही राहत महशुस गर्न थालेका छन् ।