चेस खेललाई नेपालीमा बुद्धिचाल भनिन्छ । यो खेल छैटौँ शताब्दीमा भारतबाट सुरु भएको मानिन्छ । यसलाई हिन्दीमा शतरञ्ज भन्छन् । खेलाडीले बुद्धि लगाएर खेलिने यो खेल संसारभर प्रख्यात छ । 

चेस दुई खेलाडीबीच हुने खेल हो । एउटा बोर्डमाथि सेता र काला गोटी राखिन्छ, अनि पालैपालो चालेर खेल्ने गरिन्छ । बोर्डमा ६४ वटा कोठा हुन्छन् । जसमध्ये ३२ मा सेता र अर्को ३२ वटा कोठा कालो रङ हुन्छ । 

१६–१६ वटा सेता र काला गोटी प्रयोग गरिन्छ । यी गोटी विभिन्न आकारका छन् । क्रमशः राजा १, मन्त्री १, हात्ती २, घोडा २, उँट २ र सिपाही ८ वटा हुन्छन् । अर्को रङमा पनि यस्तै गोटी हुन्छन् । यो खेलको प्रमुख उद्देश्य भनेकै विपक्षीको राजालाई बन्दी बनाउनु हो । 

सबैभन्दा पहिले दुवैतिरका गोटी बोर्डका दुईतिरै युद्ध गर्न तम्तयार भएको जस्तोगरी राख्नुपर्छ । सेतो राजा कालो कोठामा र कालो राजा सेतो कोठामा आमने–सामने पर्ने गरी राख्नुपर्छ । राजाको बायाँतिर मन्त्री र दायाँँतिर उँट तैनाथ गर्नुपर्छ ।

मन्त्रीको दायाँतिर क्रमशः उँट, घोडा र अन्तिम कुनामा हात्ती राखिन्छ । त्यस्तै, राजाको बायाँतर्फ पनि उस्तै गरी अर्को उँट, घोडा र हात्ती उभ्याइन्छ । यी सबै गोटीको अछिल्लो पंक्तिमा ८ सिपाही तैनाथ गर्नुपर्छ । अनि, खेलको सुरुवात सेतोबाट हुन्छ । अफिसियल खेलमा सुरुमा एक चाल मात्र चालिन्छ । तर, सामान्य खेलमा एकैचोटि दुईवटा गोटी चाल्ने समेत गरिन्छ ।

राजाले क्यास्लिङको समयबाहेक एक घरभन्दा बढी चल्न पाउँदैन । राजा चेक नपरेको ठाउँ एकस्टेप जता पनि जान पाउँछ । राजा र हात्ती दुईबीच क्यास्लिङ (राजाको ठाउँमा हात्ती र हात्तीको ठाउँमा राजा) हुने हो । पहिलो चाल चल्नुभन्दा क्यास्लिङ गर्न पाइने हुन्छ । क्यास्लिङले राजालाई सुरक्षित बनाउँछ भने हात्तीको बाटो खुलाउँछ । तर, राजा र हात्ती दुईवटै यसअघि नचलेको भए मात्र क्यास्लिङ गर्न पाइन्छ । त्यस्तै, राजालाई चेक दिएको पनि हुनुुहुँदैन । क्यास्लिङ पनि दुई किसिमले हुन्छ । लङ र सर्ट । लङ क्यास्लिङ गर्दा दुई घर पर जान पाइन्छ भने सर्टमा एक घर मात्र । कस्तो क्यास्लिङ गर्ने भन्ने अवस्था हेरेर हुन्छ ।

मन्त्री प्रमुख शक्तिशाली गोटी हो । ऊ दायाँ–बायाँ, अगाडि–पछाडि, छड्के जहाँ पनि जान पाउँछ । 

हात्ती पनि दायाँ–बायाँ सीधा तलमाथि जता पनि सर्न पाउँछ । तर, मन्त्री जस्तो छड्के जान पाउँदैन ।

उँटको बाटो छड्के हुन्छ । योबाहेक उसले अन्य बाटो भएर सर्न पाउँदैन । त्यस्तै, कालो कोठामा भएको उँटले कालो र सेतो कोठामा भएको उँटले सेतो कोठामा मात्र सर्न पाउँछ । 

घोडालाई यताउति सर्न बाटो चाहिँदैन । यो अंग्रजी अक्षर एल आकारमा जहाँ पनि जान सक्छ । घोडाले राजा र मन्त्रीलाई डबल चेक दिएर मन्त्री मार्न सक्छ । 

सिपाहीले पहिलो चालमा एक वा दुई तथा त्यसपछि एक मात्र सर्न पाउँछ । उसले विरोधी पक्षका गोटीलाई छड्के बाटोमा मार्न पाउँछ । ऊ नमरेसम्म पल्लो छेउ पुगेमा राजाबाहेक जुनसुकै गोटी जन्माउने सामथ्र्य राख्छ ।

राजालाई विपक्षी सेनाले आक्रमण गर्छन् । त्यसलाई चेक दिने भनिन्छ । जब चेक दिँदा राजा सर्ने ठाउँ हुँदैन, तब ऊ बन्दी बन्छ । राजालाई विपक्षी सेनाले बन्दी मनाएपछि हारजित भएको घोषणा गरिन्छ । जसले बन्दी बनाउँछ उसैले खेल जित्ने हो ।