नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेतले हिजो बैशाख २१ गते नेपाल सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछि पदबहाली गर्दै महत्वपूर्ण चारवटा निर्णयहरु गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यजिम्मेवारीलाई अझ बढी व्यवस्थित, प्रभावकारी, सेवाग्राहीमैत्री तुल्याई आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलिकृत गर्ने र उपलब्ध भएका श्रोत र साधनलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत अधिकारलाई सुनिश्चित गर्न यी महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको हो ।

१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समयक्रममा विकसित भइ संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको परस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त र दुरुस्त गरी आम नागरिकको स्वाथ्योपचारसँगै जीवन सुरक्षाको लागि तिनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

२. स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलिकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाइ स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बीमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वासनीय बनाउने ।

३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने ।

४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत, साधन (औजार उपकरण) को अत्याधिक उपयोग भए नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गरी परिचालन गर्ने