नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझी पक्राउ



३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ को पासिकोटबाट आइतबार साँझ पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधि सभा सदस्य समेत रहेका रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।
तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।
